विराटनगर : नागरिकता माग्दै आत्मदाहको प्रयास गरेका मोरङको कटहरी गाउँपालिका–४ का निरजकुमार कामतले सोमबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङबाट उनले वंशजको आधारमा नागरिकता पाएका हुन्। निरजको नाममा जारी भएको ०५–०१–८०–०३९४१ नम्बरको नागरिकता प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले उनलाई प्रदान गरे। नागरिकता हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीहरू शरदकुमार पोखरेल र प्रदीप साह उपस्थित थिए।
नागरिकता लिन बुवा किसुनदेव कामतलाई लिएर निरज प्रशासन पुगेका थिए। आवश्यक कागजात पेस गरेपछि प्रक्रिया पूरा गरेर उनलाई नागरिकता दिइएको प्रजिअ यादवले बताए।
नागरिकता माग गर्दै काठमाडौंको माइतीघरमा भएको आन्दोलनका क्रममा निरजले गत जेठ ३० गते शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएपछि त्यसको विरोधमा नागरिकता पीडित संघर्ष समितिले निरन्तर आन्दोलन एवं प्रदर्शन गरेको थियो। त्यस क्रममा आत्मदाहको प्रयास गरेका निरज संघर्ष समितिका उपाध्यक्ष हुन्।





