काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताए । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन नै पाँच वर्ष रहने बताए।
उनिले भने, “अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुने छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।”
अठारौँ शताब्दीमा कार्ल माक्र्स्ले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले अहिले पनि आफू दुनियाँले के भन्छ भन्नेभन्दा पनि राम्रो काममा ध्यान दिने गरेको बताए।
भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति हावी भएकोे प्रधानमन्त्रीको भनाइ थियो । आफूले देश र जनताका पक्षमा राम्रो गर्दै जाने बताउँदै जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने उनिको भनाइ थियो ।





