सन्दीपविरुद्ध जाहेरी दिने किशोरीलाई १ लाख राहत दिन अदालतको आदेश

२०८० असार ११, सोमबार

काठमाडौं : काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला २६ ललाई क्षतिपूर्ति दिन आदेश दिएको छ।

गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनमाथि सोमबार जिल्ला अदालत काठमाडौंमा भएको सुनवाइपछि उक्त आदेश भएको हो। गौशाला २६ को निवेदनमाथि जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा सुनुवाइपछि उक्त आदेश भएको हो।

गौशाला २६ ले यातायात र घरभाडासहित २ लाख ७० हजार क्षतिपूर्ति उपलब्ध गराउन मागसहित अदालतमा निवेदन दिएकी थिइन्। तर न्यायाधीश पण्डितको इजलासले पीडित राहत कोषबाट १ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश गरेको हो। क्षतिपूर्तिको विवादमा अदालतको आदेश आएकाले अब मुख्य मुद्दाको फैसला गर्न पनि बाटो खुलेको छ। उक्त मुद्दामा सन्दीप लामिछानेको तारिख आगामी असार २९ गतेका लागि तोकिएको छ।

त्यसपछि मुद्दाको फैसलाका लागि पेसी तोकिने छ। यसअघि नै अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भए पनि न्यायाधीशले क्षतिपूर्तिको टुंगो लगाएपछि मात्रै अन्तिम फैसला गर्ने आदेश दिएका थिए। यो प्रकरणमा सर्वोच्च अदालतले समेत फास्ट ट्रयाबाट टुंग्याउन पनि आदेश दिएको थियो। तर क्षतिपूर्तिको मुद्दा लम्बिँदै जाँदा मुख्य मुद्दाको फैसला पनि पर पर सरिरहेको छ। 

गौशाला २६ ले सन्दीपबाटै क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी थिइन्। त्यसबेला उनले १० लाख ५० हजार क्षतिपूर्ति पाउनुपर्ने जिकिर गरेकी थिइन्। त्यसपछि उनको तर्फबाट अस्पतालमा उपचार गरेको ७० हजारको बिलसहितको विवरण पेस गरिएको थियो। 

गौशाला २६ को उक्त दाबीलाई अदालतले अस्वीकार गरेको थियो। मुद्दाकै किनारा लाग्ने बेला भएको भन्दै न्यायाधीशले गौशाला २६ को उक्त मागलाई अस्वीकार गरिदिएका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार