काठमाडौं : प्रमुख सत्तारुढ नेपाली कांग्रेसले अब अनलाइनबाटै पार्टी सदस्य दिने भएको छ। कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
अब कांग्रेसको सदस्य बन्न चाहने नेपाली नागरिकले पार्टीको वेबसाइटमा गई आवेदन दिन र सदस्यता शुल्क बुझाउन सक्ने भएका छन्। त्यसका लागि सदस्यता फारम भरिसकेपछि मोबाइल फोनमै जानकारी आउने बनाइएको छ। आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरि अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड दिइने भएको छ।
यसअघि कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएको थियो। अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनसक्ने भएको छ। कांग्रेसको विधानअनुसार क्रियाशील सदस्यता प्रत्येक वर्ष नविकरण गर्नुपर्ने व्यवस्था छ। प्रत्येक वर्ष गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरणको नियमित प्रक्रिया शुरु गरिएको समितिले जनाएको छ।
नवीकरणका लागि जिल्ला कार्यालयले मातहतका निकायबाट विधान बमोजिमको आवश्यक प्रक्रिया पूरा गरी गराई योग्यता पुगे नपुगेको हेरी अनलाइबाटै नवीकरण विवरण भर्ने भएको छ। यसरी नवीकरण भएको व्यक्तिको सदस्यता कार्ड अनलाइन वा प्रिन्ट गरेर जिल्ला कार्यसमितिले नै सदस्यलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ।
कांग्रेसको विधानमा योग्यता पुगेको व्यक्तिलाई अधिवेशनको वर्षबाहेक अन्य समयमा नयाँ क्रियाशील सदस्यता निरन्तर वितरण गर्नुपर्ने व्यवस्था छ।





