गरुडा नगरपालिकामा उपप्रमुखले लगाएको ताला खुलेन, धर्ना जारी

२०८० असार १२, मंगलवार

रौतहट : रौतहटको गरुडा नगरपालिकामा बहुमत जनप्रतिनिधिलाई पाखा लगाएर नगरसभा गरेको भन्दै उपप्रमुख पुनम चौधरी लगायतले कार्यालयमा ताला लगाएर धर्ना बसेका छन् ।

चौधरी लगायतका जनप्रतिनिधिहरूले सोमबार नै आफूहरूलाई पाखा लगाइएको भन्दै नगरसभा बहिष्कार गरी पालिकामा ताला लगाएका थिए । तालाबन्दीपछि नगरपालिकाको नियमित कामकाज पनि प्रभावित भएको छ । उनीहरु मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्नामा बसेका हुन् ।

नगरप्रमुख कन्थमणि जैसवालले भने धर्नामा बसेका जनप्रतिनिधिहरुसित बारम्बार सम्वादको प्रयास गरेको बताएका छन् । साथै उपप्रमुखलाई आफूले कहिल्यै पनि काखापाखा नगरेको दाबी गरेका छन् ।

‘उपप्रमुख चौधरीको अधिकार खोसियो भन्ने आरोप सरासर झुठो हो । उहाँले भने अनुसार काम भइरहेको छ । नगरसभाका लागि उपप्रमुखसित पटक/पटक सल्लाह भएकै हो । तर किन चित्त दुखाउनु भएको हो बुझिएको छैन,’ प्रमुख जैसवालले भनेका छन् ।

नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्दै उपप्रमुख चौधरीसहित ६ वडाका अध्यक्षहरु र ३१ जना सदस्यहरुले धर्ना बस्दै विरोध जनाएका छन् । कार्यालयमा तालाबन्दी गरेर उनीहरु मुख्य गेटमै धर्नामा बसेका हुन् । वडा अध्यक्षहरुले नगसभा बहिष्कार गर्नुपर्ने कुनै कारण नरहेको प्रमुख जैसवाल बताउँछन् । कार्यालयमा ताला लगाइएपछि कर्मचारीहरु पनि कार्यालयमा उपस्थित भएका छैनन् ।

नगरप्रमुख कन्थमणि जैसवालले एकलौटी ढंगले बजेट चलाउन खोजेको र सहमति नै नगरी जबर्जस्ती नगरसभा गरेकाले धर्नामा बसेको उपप्रमुख चौधरीको आरोप छ । यससँगै उपप्रमुख चौधरी लगायतका जनप्रतिनिधिहरुले नगरसभामा गरिएको हस्ताक्षरसहितको निर्णय पुस्तिका हेर्न माग गरेका छन् ।

आइतबार नगरपालिकाको नवौं नगरसभामा ५५ करोड १६ लाख ३० हजारको बजेट तयार पारिए पनि विरोध र तालाबन्दीका कारण बजेट प्रस्तुत हुन सकेन ।

बहुमत सदस्यले नगरसभा बहिष्कार गरेपछि बजेटमाथि सोमबार हुने भनिएको छलफल कार्यक्रम अन्योल बनेको छ । आफ्नो सबै अधिकार नगरप्रमुख जैसवालले खोसेको भन्दै उपप्रमुख चौधरी लगायत २, ३, ६, ७, ८ र ९ नम्बर वडाका अध्यक्षहरुले नगरसभा बहिष्कार गरेका हुन् । माग पूरा नभएसम्म दिनहुँ धर्नामा बस्ने उपप्रमुख चौधरीको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार