राप्रपा बैठकमै रेखा थापाले गरिन् राजेन्द्र लिङ्देनको आलोचना

२०८० असार १३, बुधबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई दिनदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचना भएको छ। केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा समिति सदस्य समेत रहेकी नेतृ रेखा थापाले पार्टी अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति खरो असन्तुष्टि जनाउँदै आलोचना गरेकी हुन्।

बैठकमा बोल्दै नेतृ थापाले नेतृत्व गतिहीन, प्रभावहीन र अदुरदर्शी ढङ्गले अघि बढेको भन्दै यसबाट पार्टीको भविष्यमा गम्भीर असर पर्ने बिचार ब्यक्त गरेकी छन्। पार्टी सञ्चालन गर्न दीर्घकालीन योजना, फराकिलो चिन्तन र सबैलाई समेट्न सक्ने क्षमता आवश्यक पर्ने बताउँदै उनले अहिले पार्टी नेतृत्व चाकडी, चाप्लुसी र भक्तिगानमा रुमल्लिँदै एकाङ्गी रुपमा अघि बढेको बताइन्।

रेखाको भनाइबारे बैठकमा सहभागी एक नेताले भने, ‘कमल थापाको बारेमा प्रश्न उठाएर नेतृत्व परिवर्तन गर्नेहरु आज अझै बढी निरङ्कुश भएको टिप्पणी उहाँ (रेखा) ले गर्नु भएको थियो।’ नेतृ थापाले पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिँदै नेतृत्वलाई खुशी पार्नेहरु मात्रै पार्टीमा हावी हुने हो भने संगठन धराशायी हुने पनि धारणा राखेको ती नेताले जानकारी दिए।

योग्यता, क्षमता ,जनमतलाई हेरेर पार्टीमा भूमिका र जिम्मेवारी दिनुपर्नेमा नेतृत्वको स्तुतिगान गाउनेले मात्र अवसर पाउने हो भने स्वाभिमानी कार्यकर्ताले राप्रपामा लाग्नुको अर्थ नहुने नेतृ थापाको भनाइ थियो। नेतृ थापाको धारणामा पार्टीका उपाध्यक्ष विक्रम पाण्डे तथा महामन्त्री राजेन्द्र गुरुङ र ठाकुरमोहन श्रेष्ठ लगायतले समर्थन जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार