कोशी : नेकपा एकीकृत समाजवादी कोशी प्रदेशका संसदीय दलका नेता राजेन्द्र राईले आफूहरूलाई नेकपा एमाले छाड्न मन नहुँदा नहुँदै पनि हेपिएको र पेलिएको कारण छाड्न बाध्य भएको बताएका छन्।
कोशी प्रदेशसभा बैठकमा बिहीबार सम्बोधन गर्दै उनले अहिलेपनि नेकपा एमालेकै नाममा भाषण गरिरहेको सपना आफूले देख्ने गरेको पनि बताए।
‘त्यो पार्टी हामीलाई छाड्न मन लागेकै थिएन। सपनामा पनि त्यही पार्टीकै नाममा भाषण गरेको देखिन्छ,’ राईले भने, ‘त्यही पार्टीकै झन्डा उठाएर उबेला ढुंगामुढा गरेको देखिन्छ। त्यो पार्टी छाड्न त हामीलाई मन नै थिएन।’
पूर्व मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका सचिव राईले भोट चाहिने बेलामा मात्र आफूहरुलाई एमालेले सम्झने गरेको गुनासो गरे। उनले हिजोका गल्ती सच्याउने हो भने आफूहरु पार्टी एकता नै गर्न चाहेको बताउँछन्।
‘अहिले पनि हिजोका गल्ती सच्याउने हो भने हामी त पार्टी एकता नै गर्न चाहन्छौं। हैन गल्ती नसच्याउने हो भने चाहीँ त्यो समर्थन कसरी गर्न सकिन्छ त?,’ उनले भने।





