चितवन : बिहीबार मध्यान्हबाट अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड खुलेको छ। बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक केहीबेर अघिबाट सञ्चालनमा आएको हो।
अवरुद्ध सडकखण्डको अवस्था बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि पुगेका छन्। उनका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार चितवनमा आयोजित धान दिवसको कार्यक्रम सकेर सभापति लामिछाने अवरुछ सडकखण्डको अवलोकनमा पुगेका हुन्।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भएको थियो। बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरेर सडक खोलिएको हो।
सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन। ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानबाट पहिरो पन्छाउन थालिएको थियो। सडक सञ्चालनमा आए पनि सवारी साधनको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको थियो
चौबीस घन्टाभन्दा बढी समयदेखि सडक अवरुद्ध हुँदा सो सडक हुँदै यात्रा गर्ने धेरै यात्रुहरु विचल्लीमा परेका थिए। उक्त सडक हुँदै दैनिक औसतमा १० हजार सवारी आवतजावत गर्ने गर्दछन्।





