काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताएका छन्। आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘मैले भनेको थिएँ–यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ। जति गर्छु देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु।’
सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपीलसमेत गरेका थिए। कार्यक्रममा विश्वका विभिन्न देश र नेपालका विभिन्न शहरमा अडिनमा सहभागी भई झण्डै १७ देशका पचास हजारबाट छानिएका १२ जना प्रतिस्प्रर्धीहरुको सहभागी भएका थिए।

कार्यक्रममा प्रतिस्प्रर्धीहरूले प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकालमा भ्रष्टाचार नियन्त्रण सुशासनका पक्षमा गरेका कार्यको प्रशंसा गरेका थिए। सो कार्यक्रमको फाइनल भदौंमा गोदावरीमा हुने आयोजकले जनाएको छ।





