काठमाडौँ : ललिता निवास जग्गा प्रकरणमा मुछिएका तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रेष्ठलाई मंगलबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।
भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले प्रधानमन्त्री निवास विस्तारका नाममा अघि सारिएको प्रस्तावमा किर्ते कागजात तयार पारी नक्कली मोहीलाई जग्गा सट्टा भर्ना दिने सम्बन्धी फाइलमा हस्ताक्षर गरेको सीआईबीको अनुसन्धानमा खुलेको छ ।
अर्का इन्जिनियर राजेन्द्र श्रेष्ठले किर्ते कागजातका आधारमा तयार पारेको किर्ते ब्यहोराको टिप्पणीमा बालकृष्णले हस्ताक्षर गरी स्वीकृतिका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयमा पठाएका थिए । प्रधानमन्त्री निवासको दक्षिततर्फको परिसर विस्तार गर्ने सम्बन्धी निर्णयका अनुसूची समेत हेरफेर गरी मन्त्रालयमा पठाएका थिए ।
२०६६/६७ को उक्त विवादास्पद र फर्जी कागजात तयार पारिएको प्रस्ताव सचिव, मन्त्री हुँदै मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको थियो । जग्गा सट्टा भर्ना सम्बन्धी प्रस्तावमा करिब २५ रोपनीको आधा नक्कली मोहीलाई दिने निर्णय भएको थियो । जसकारण गृहमन्त्रालय मातहतको समरजंग कम्पनीको उक्त जग्गा नक्कली मोही र भूमाफियाले खडा गरेका व्यक्तिलाई सट्टा भर्नाका नाममा दिइएको थियो ।
यो विषयमा सीआईबीले असार १२ बाट अनुसन्धान गरिरहेकोमा हालसम्म श्रेष्ठसहित १५ जना पक्राउ परिसकेका छन् । श्रेष्ठसहित मंगलबार एकै दिन तीन जना पक्राउ परेका छन् ।





