दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार छु : व्यवसायी मल्होत्रा

२०८० श्रावण ४, बिहीबार

काठमाडौं : व्यवसायी दीपक मल्होत्राले सुन तस्करी प्रकरणमा आफू दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन्। त्रिभुवन विमानस्थलबाट भित्रिएको १०० किलो सुन प्रकरणमा नाम मुछिएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सो घटनामा आफू निर्दोष रहेको स्पष्ट पारे।सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको उनको दावी छ।

‘सुन तस्करी प्रकरणमा मेरो कुनै संलग्नता छैन। म नेपालमा बसोबास गर्ने व्यक्ति हुँ। काम विशेषले कहिलेकाही विदेश जानेगर्छु,’ उनले भने,’दोषी ठहरिए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार छु।’

उनले सुन ल्याउने गिरोहलाई बचाउनका लागि र घटना डाइभर्ट गर्न नियोजित रुपमा आफ्नो नाम जोडिएको आशंका व्यक्त गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग १०० किलो सुन बरामद प्रकरणमा राजस्व अनुसन्धान विभागले हालसम्म एक भारतीय नागरिकसहित छजनालाई पक्राउ गरेको छ ।

हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पास गरेर सिनामंगल पुग्न लागेको अवैध सुन बरामद भएको थियो ।

बुधबार चेकजाँचबाट पुष्टि भएपछि मात्र सार्वजनिक गरिएको थियो। विभागको टोलीले भन्सार कार्यालयको गेट अगाडिबाट सुन बरामद गरेको थियो।जाँचपास गर्ने भन्सारका कर्मचारीलाई निलम्बन गर्न समिति समेत गठन गरिएको छ। सुन मोटरसाइकलको ब्रेक सु र दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको थियो। सुन हङकङबाट ल्याइएको खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार