दाङ : प्यूठान स्वर्गद्वारी नगरपालिकाकी ७३ वर्षीया वृद्धा दाङको घोराही उपमहानगरपालिका-१० स्थित मानव सेवा आश्रममा बस्दै आएकी थिइन्। उनी आँखाको उपचार गर्न बिहीबार तुलसीपुर आएकी थिइन्। आउँदा आउँदै झमक्क साँझ पर्यो। तुलसीपुर उनको लागि नयाँ ठाउँ थियो। नजिकै चिनेजानका पनि कोही थिएनन्।
होटलमा खान र बस्न पैसा नभएपछि वृद्धाले भोकै पेट सडकमा सुत्ने निधो गरिन्। सडकपेटीमै बसिरहेको बेला मध्यरातमा दुई युवक आए। उनीहरूले सडक पेटीमा बसेकी वृद्धालाई केही खाए नखाएकोबारे सोधे। भोकै रहेको र जाने ठाउँ पनि कहीँ नभएको थाहा पाएपछि उनीहरूले वृद्धालाई फकाउन थाले।
खाना खुवाइदिने र बासको पनि व्यवस्था गरिदिने भनेपछि वृद्धा उनीहरूको पछि लागिन्। उनीहरूले वृद्धालाई तुलसीपूर बसपार्कमा पुर्याए। बसपार्कभित्र पार्किङ गरिराखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र वृद्धालाई लगे। बसभित्र पुगेपछि वृद्धाले पनि केही राहतको महसुस गरिन्।
तर केहीबेरमा उनले सोच्दै नसोचेको भयो। छोरा नातिसरह व्यक्तिबाट आफूमाथि यतिसम्मको व्यवहार होला भनेर उनले सोचेकीसम्म थिइनन्। गाडीभित्र लगेपछि दुई युवकले वृद्धामाथि पालैपालो बलात्कार गर्न थाले। असह्य भएर वृद्धा चिच्याइन्। उनको चिच्याहट सुनेर कसैले प्रहरीलाई खबर गरिदिएको थियो। सेतोपाटी