काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष व्यवसायी दीपक मल्होत्राले सुन तस्करीको ग्याङ पत्ता लगाउन केही मान्छे परिचालन गरेको खुलासा गरेका छन् । बिहीबार प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुनै पनि सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको र एक सय किलो सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएपछि त्यसको वास्तविक मालिक को हो भनेर पत्ता लगाउन केही मानिस आफूले पनि लगाएको बताए ।
‘क–कसको हात, म अहिले खुलस्त भन्न सक्दिन । यो सुनको पछाडि को छ त ? कसको सुन हो भन्ने मलाई पनि चासोको विषय बनेको छ । मैले पनि केही मान्छेहरु लगाएको छु, यो सुनको ग्याङ को हो भन्ने कुरा पत्ता लगाउन कोशिस गरिरहेको छु,’– उनले भने । उक्त सुन प्रकरणमा नाम आउनुमा उक्त प्रकरणमा संलग्न ग्याङले नयाँ पत्रिकामा आफ्नो नामसहितको समाचार पठाएर आफू भाग्ने समय खोजेको उनको आशंका छ ।
‘मेरो नाम आउनुको पछाडि ती ग्याङहरु, जसले यो सुन मगायो, यो ठूलो ग्याङ हो । यो सानो होईन । ती ग्याङले नयाँ पत्रिकामा न्युज पठाएर त्यसलाई डाईभर्ट गर्न कोशिस गरे, जो अपराधी हो त्यसले भाग्ने मौका पायो होला,’– उनले भने ।