भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउनको सोमबार मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ ।
मन्दिरमा सर्वसाधारणसँगै उच्च पदस्थ व्यक्तित्वको समेत आगमन बढेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए । डोलेश्वरको दर्शन एवं पूजापछि श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीले मन्दिर परिसरको अवलोकन गरेका छन् । उनले मन्दिरमा निर्माण भएका विभिन्न संरचना र आश्रमको अवलोकन गरेको वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले बताए । यही साउन १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३८ दिने श्रावणी मेलाको अवसरमा मन्दिर आएका मन्त्री भण्डारीले डोलेश्वरले धार्मिक पर्यटनको विकासमा टेवा पु¥याएको बताएका थिए । उनले यहाँका विभिन्न संरचनाका बारेमा चासो दिएका थिए ।
मन्दिरमा आज बागमती प्रदेशसभाका उपसभामुख अपसरा चापागाई खत्रीले पनि अवलोकन गरेको छ । त्यस्तै पूर्वमन्त्री राजेन्द्र महतो, बागमती प्रदेशका वनमन्त्री मसिना खड्का, बागमती प्रदेशसभाका सदस्य किरण थापा, सुरेश श्रेष्ठ, पूर्वसदस्य शशीजङ्ग थापालगायतले मन्दिरको विकासमा तीन तहकै सरकारले पु¥याएको योगदानबारे जानकारी लिएको थियो । आज बिहानैदेखि डोलेश्वरमा दर्शनार्थीको भीड लागेको बताउँदै समितिका अध्यक्ष बस्नेतले मेला भर्न आएका दर्शनार्थीलाई आधा घण्टामै दर्शन गर्ने गरी व्यवस्था गरिएको र स्वयंसेवक परिचालन गरिएको बताए । आजै सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि बिहानैदेखि दशनार्थीको भीड लागेको छ ।
मनोकाङ्क्षा पूरा गर्ने मन्दिरको रुपमा लिइने यस मन्दिरमा दर्शन एवं पूजा गर्न दर्शनार्थीका भीड लागेको हो । त्यस्तै दत्तात्रय मन्दिर, गुप्तेश्वर, सोमलिङ्गेश्वर, अनन्तलिङ्गेश्वर, नन्दिकेश्वर, लटरम्मेश्वर, सुवर्णेश्वर, कैलाशेश्वर, चरखण्डीश्वरलगायतका मन्दिरमा भव्य मेला लागेको छ ।





