साथीहरूलाई ठाउँ चाहिएको भए पद छोड्न तयार छु : धनराज गुरुङ

२०८० श्रावण ८, सोमबार

काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद्‌मा विचाराधीन रहेको केही नेपाल ऐन संशोधन गर्ने विधेयकप्रति आफू सचेत र जिम्मेवार रहेको बताएका छन् । 

उनले आफूले सरकारले दिएको भारी संसद्‌मा लगेर बिसाएको र संसद्‌मा विधेयकको धारा ६४ मा धेरै संशोधनसमेत परेको भन्दै त्यसलाई परिमार्जन गर्दै अघि बढ्न सकिने बताएका हुन् । सोमबार पार्टी केन्द्रीय समितिको बैठकमा उनले विधेयकको धारा ६४ मा धेरै सांसदहरूले संशोधनको प्रस्ताव राखेको बताउँदै आफूले चामलको बोरामात्रै खोलेको तर बोरा खोल्दा बियाँ र भुस पनि हुने भएकाले त्यहाँ चामल नै चामल हुन्छ भनेर व्याख्या गर्न नहुने उल्लेख गरे ।

उनले आफ्नो चाहना चामलमात्रै होस् भन्ने भए पनि सिधै बोरामा रहेको चामल पकाएर खान नसकिने र विधेयकलाई छाँटकाँट गरेर अघि बढ्नुपर्ने तर्क गरे । उनले विधेयकमा नराम्रो कुरा भए संशोधन हुने प्रतिबद्धतासमेत जनाए । उपसभापति गुरुङले आफ्नै पार्टीका नेताहरूले आफ्नो राजीनामा मागेको भन्दै नेताहरूलाई ठाउँ खाली गरिदिए हुन्थ्यो भन्ने लागेको भए आफू मन्त्री पदबाट राजीनामा दिन तयार रहेको बताए । उनले आफ्ना लागि पदको आशक्ति ठूलो कुरा नरहेको जिकीरसमेत गरेका छन् ।

‘केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकको सन्दर्भमा कुरा उठेको छ । संसद्‌मा पनि जोडदार ढंगबाट नै उठेको थियो । धारा ६४ को सन्दर्भमा निकै जोडदार ढंगबाट कुरा उठ्यो । चामलको बोरा लिएर गइसकेपछि बोरा फुकाउँदा त्यसभित्र चामलमात्रै हुन्छ भनेर भनिदिन भएन । हाम्रो उद्देश्य चामलमात्रै होस् भन्ने हो, तर चामलको बोरा फुकाउँदा दुई चारवटा बियाँहरू पनि हुन्छन् । अलिअलि भुस पनि हुन्छ । त्यसैले स्वाट्टै ताउलोमा खन्याएर पकाउन मिल्दैन‚’ उपसभापति गुरुङले भने, ‘यत्ति कुरा त बुझिदिनपर्‍यो नि त । फेरि नाङ्लोमा हालेर निफन्ने, छान्ने, केलाउने गरेर भुसलाई फाल्नुपर्छ । चामलमात्रै राख्छौँ । त्यसपछि बल्ल पकाउन ताउलोमा राख्छौं ।’

आफूले सरकारको भरिया भएर संसद्‌मा विधेयकको भारी बोकेको बताउँदै उनले भने‚ ‘भाग पाउँदा खाली गरिदिए भन्ने साथीहरूको छ भने तयार छु, केही छैन, पद भनेको आउँछ जान्छ, धनराजको लागि पदमा आशक्त भइरहनुपर्छ भन्ने छैन ।’

उपसभापति गुरुङले निर्वाचनको टिकट दिने कुरा लाइभ गरेर हुने हो कि होइन भन्दै प्रश्नसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार