काठमाडौं : नाबालिगलाई नाइट क्लबमा प्रवेश गराएको घटनामा लर्ड अफ ड्रिंक्स (एलओडी) का सिइओसहित ३ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा ३ जनाविरूद्ध मुद्दा दायर गरेको हो।
प्रहरीले यस प्रकरणमा काभ्रे स्थायी घरका क्लबका फ्रन्ट अफिस म्यानेजर २७ वर्षीय सहदेव सेढाई, चितवन घर भएकी एलओडीकी २३ वर्षीया कर्मचारी सपना ढुंगाना र टोखा घर भएका क्लबका सिइओ ४४ वर्षीय रविन श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको हो। उनीहरूविरूद्ध बालबालिका विरूद्धको कसूरमा मुद्दा दायर भएको हो।
एलओडी गएकी करिब १६ वर्षकी नाबालिगको ललितपुरको बागडोलमा बलात्कार भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरूविरूद्ध जाहेरी दिएको थियो। म्यानेजर सेढाईलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ भने ढुंगाना साधारण तारेखमा छिन्। सिइओ श्रेष्ठ भने फरार छन्।
ललितपुर प्रहरीले उक्त क्लबका संचालकहरू रूदिपबल्लभ श्रेष्ठ र राजु सिंह सुवाललाई पक्राउ गरेको थियो। तर नाबालिग क्लबमा प्रवेश गर्दा त्यहाँ नरहेको भन्दै सरकारी वकिलले उनीहरूलाई छाड्न आदेश दिएको थियो। त्यसपछि असार २८ गते उनीहरू छुटेका थिए।
उक्त क्लबमा प्रवेश गरेकी नाबालिगलाई बागडोल पुर्याएर बलात्कार गरेको आरोपमा प्रहरीले सुदनबहादुर कोइरालालाई प्रहरीले पक्राउ गरेको थियो। उनी अहिले पुर्पक्षका लागि थुनामा छन्। एलओडीका म्यानेजर सेढाईले भने ती नाबालिगसँग आएकी अर्की साथीले आफूभन्दा ठूली भएको बताएकाले प्रवेश गराएको बयान दिएका छन्।





