एक लिटर बिच्छी विषको मूल्य ८ करोड

२०८० श्रावण १४, आईतवार

काठमाडौं : सर्प जस्तै बिच्छी पनि खतरनाक हुन्छन् र यसले मानिसलाई मार्न पनि सक्छ तर तिनीहरूको विष धेरै मूल्यवान हुन्छ। एक लिटर बिच्छी विषको मूल्य १० लाख डलरसम्म छ । नेपाली मुद्रामा कुरा गर्ने हो भने यो रकम १३ करोड रुपैयाँ भन्दा बढी हुन्छ ।

टर्कीको एउटा प्रयोगशालामा २० हजार बिच्छी छन्, जहाँ हरेक दिन दुई ग्राम बिच्छीको विष संकलन गरिन्छ। बीबीसीसँग कुरा गर्दै प्रयोगशाला सञ्चालकले बिच्छीको हेरचाह गर्ने, समयमै खाना खुवाउने र विष निकालेर युरोपमा सुपथ मूल्यमा बेच्ने गरेको बताए ।

उनका अनुसार बिच्छीको डंकमा दुई मिलिग्राम मात्रै विष हुन्छ । करिब तीन सयदेखि चार सय बिच्छीको सहयोगमा एक ग्राम विष जम्मा गर्न सकिन्छ । मूल्यबारे कुरा गर्दै प्रयोगशालासँग जोडिएका म्याडेनका अनुसार एक लिटर विष १० लाख डलरसम्ममा बिक्री हुने गरेको छ ।

ल्याटिन अमेरिकामा पाइने बिच्छीको विषले मार्गा टक्सिन नामक पदार्थ उत्पादन गर्छ जसले रक्तनलीमा कोशिकाहरू निर्माण गर्न मद्दत गर्छ र मुटुको शल्यक्रियामा प्रयोग गरिन्छ। यी बिच्छीहरू पाँचदेखि आठ सेन्टिमिटर लामो हुन्छन्, यिनीहरूको विष त्यति घातक नभए पनि मानिसलाई टोकेमा कडा दुखाइ, सुन्निने र चिलाउने समस्याले सताउँछ।

बिच्छीको डंकबारे अनुसन्धान गरिरहेका लीड्स युनिभर्सिटीका प्रोफेसर डेभिड भन्छन्, यो विष निकै शक्तिशाली छ र यसको थोरै मात्रा पनि फाइदाजनक हुन्छ । उनका अनुसार मार्गा टक्सिनलाई औषधिको रूपमा मात्र नभई मुटुसम्बन्धी रोगमा स्प्रेको रूपमा पनि प्रयोग गरिन्छ । आजकल बिच्छीको विषलाई सौन्दर्य उत्पादनमा पनि प्रयोग गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार