पार्टी नेतालाई प्रचण्डको निर्देशन– फोटो खिच्न आउनेसँग सजग हुनु

२०८० श्रावण १५, सोमबार

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूसँग फोटो खिचाउन आउने व्यक्तिसँग सजग हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। पछिल्लो समय सुन तस्करीमा संलग्नता देखिएको भनिएका व्यक्तिले पार्टीका नेताहरुसँग खिचेका तस्बिर सार्वजनिक भएपछि प्रचण्डले यस्तो निर्देशन दिएका हुन्। सोमबार बसेको पार्टी पदाधिकारीहरुको बैठकमा प्रचण्डले फोटो खिच्न आउनेसँग सजग हुन र फोटो सार्वजनिक गर्ने कुरामा पनि ध्यान दिन निर्देशन दिए।

साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेटबाट बरामद भएको १ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङले माओवादी नेता वर्षमान पुन लगायतसँग खिचेका तस्बिर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। दावाले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनसहित उनका छोरा दिपेश पुन लगायतसँग खिचेका तस्बिरहरु पनि सञ्जालमा सार्वजनिक भइरहेका छन्।

सोही तस्बिरको विषयलाई लिएर उपमहासचिव वर्षमान पुनले पार्टी पदाधिकारीहरुको बैठकमा स्पष्टीकरण दिएका थिए। पुनले दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए। सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितताविरोधी अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रुपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको उनको टिप्पणी थियो।

आफ्नो गृहजिल्ला रोल्पाको थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिए। ‘दावा पक्राउ परेपछि ८ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो’, पुनले भने, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो।’

पुनले सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी देखिएमा आफू पनि कारबाहीको भागिदार हुन तयार रहेको बताएका थिए। ‘हामी नेताहरु, हाम्रा आफन्तहरु वा जसजसको अपराधमा संलग्नता देखिन्छ, त्यसले सजाय भोग्नुपर्छ। जेल जान तयार हुनुपर्छ,’ पुनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार