काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा जान तयार भएको हो । छलफलमा नागरिक उन्मुक्तिले २ मन्त्री पाउने सहमति भएको नेताहरूले बताएका छन् । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशसभाका सांसद लक्ष्मणकिशोर चौधरीले कृषि मन्त्रालय पाउने निश्चित भएको बताए ।
संसदका ४ समितिलाई बढाएर ६ बनाउने र २ वटा समिति नागरिक उन्मुक्तिलाई दिइने बालुवाटारको छलफलमा सहभागी नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री नरेश शाहीले जानकारी दिए । त्यस्तै नागरिक उन्मुक्तिले एक राज्यमन्त्री पनि पाउने भएको छ ।
पार्टीका संरक्षक रेशमलाल चौधरीले सोमबार पनि प्रधानमन्त्री दाहाललाई भेटेका थिए । छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरी र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलगायतका नेताहरू पनि सहभागी थिए । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पनि बिहीबार सुदूरपश्चिम सरकारमा सहभागी हुने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।





