काठमाडौँ : बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहितका तीनजालाई सफाइ दिएको हो ।
यस्तै विनाइजाजत बैंक तथा वित्तीय कारोबारमा कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्माले पनि सफाइ पाएका छन् ।दीपक विश्वकर्माको हकमा भने विनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्लाअदालतकै फैसला सदर भएको छ । लालबहादुरलाई ७२ जनाले निर्दोष रहेको बकपत्र गरे पनि ३ करोड बिगो जरिबाना तिर्न नसक्दा सुनसरी जिल्ला अदालतको आदेशअनुसार कारागार पुगेका थिए ।
२०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौ जनाले २०७२ सालदेखि इटहरी तरहरामा सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सविरुद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए । असार २१ गते जिल्ला अदालत सुनसरीमा ज्वेलर्सविरुद्ध अर्को मुद्दा दर्ता भएको थियो ।
अदालतमा २७५ जनाले १० हजारदेखि १० लाख रुपैयाँसम्म ठगी गरेको भन्दै मुद्दा दिएका थिए । उजुरीमा अढाई वर्षदेखि ज्वेलर्समा कालिगडका रूपमा कार्यरत लालबहादुरलाई पनि विपक्षी बनाइएको थियो ।
२०७८ पुस १९ गते सुनसरी जिल्ला अदालतले ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेरसहित सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र लालबहादुरविरुद्ध १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गरेको थियो । जसमा लालबहादुरलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो र ७० हजार जरिबानासहित तीन वर्ष जेल सजाय सुनाइएको थियो ।
उनीबाट आफूहरू ठगिएको हैन भन्दै जाहेरवाला ७२ जनाले बकपत्र गरे पनि पनि सुनसरी जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको इजलासले विकलाई करोडौं बिगो तोकेको थियो ।
उनको आर्थिक अवस्था ज्यादै न्यून रहेको छ । लालबहादुर विश्वकर्माको १० धुर जग्गामा टिनको छानो भएको सामान्य घर छ । घर भएको जग्गा उनको मात्रै होइन, बुवा हर्कबहादुर विश्वकर्माले दुई छोरालाई संयुक्तरूपमा अंशमा दिएका हुन् । लालबहादुर र दाजुलाई ५–५ धुर जग्गा भागमा परेको छ ।
जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए ।





