काठमाडौं : सभामुख देवराज घिमिरेले सदनमा जारी अवरोध खुलाउनका लागि सत्ता पक्ष र प्रमुख प्रतपक्षी दलहरुबीच छलफल हुनुपर्ने बताएका छन्। शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा सभामुख घिमिरेले सम्वादमार्फत् नै समस्या समाधान हुने भएकाले सदन अवरोध खुलाउनका लागि पनि सत्ता र विपक्षी दलबीच छलफल हुनुपर्ने बताए। सभामुख घिमिरेले सदन खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।
प्रधानमन्त्रीसँगको भेटमा सभामुख घिमिरेले दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति नरहेको बताए। ‘सदन नचल्नु राम्रो भएन। माननीयहरुले बोल्ने समय माग्नुभएको छ। प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा मानीयहरु बोल्न पाइनँ भन्नुहुन्छ,’ सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई भने, ‘दलीय सहमति बिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन। आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्। कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्।’
सभामुख घिमिरेले संसदीय समितिहरुको नेतृत्व चयन हुन नसकेको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। ‘संसद्मा कानून निर्माण भएनन् भन्ने गुनासो छ। सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु। तर परिणाममा निस्किन सकेन। शीर्ष नेताहरु नै घण्टौं बस्दा पनि सहमति भएन,’ सभामुखले दु:खेसो पोखे।
जवाफमा प्रधानमन्त्री प्रचण्डले सदन खुलाउनका लागि आफूले भूमिका खेल्ने बताए। प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग थप छलफल गर्ने बताए। ‘म पनि सदन खुलाउन भूमिका खेल्छु। तपाईं पनि लाग्नुहोस्। छिट्टै सहमति गर्नै पर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।