काठमाडौं : काठमाडौं महानगरपालिकाले विरोधका बीच दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौं महानगर भित्र नयाँ बसपार्कबाट एकद्वार रुपमा मात्रै टिक काउन्टर सञ्चालन गर्ने नीति लिएपछि धमाधम महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाइरहेको हो ।
यसअघि महानगरपालिकाकाले २६ साउनमा सूचना जारी गरेर जथाभावी रुपमा सञ्चालित काउण्टर हटाउन भनेको थियो । सोही सूचना अनुसार १ भदौदेखि टिकट काउण्टर हटाएको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार हालसम्म कोटेश्वरमा ४१, गौशालामा २७, चावहिलमा २१ र गोंगबु क्षेत्रमा ११ अनधिकृत रुपमा चलेका काउण्टर हटिसकेको छ । कलंकी र बल्खु क्षेत्रमा पनि दर्ता नभएका काउण्टर हटाउन सुरु गरिएको पाण्डेले बताए ।
महानगर प्रहरीले चावहिलमा अनधिकृत रुपमा निर्माण गरिएका १० वटा काउण्टरमा डोजर समेत चलाएको थियो । यसअघि १ असारदेखि विना दर्ता सञ्चालित काउण्टर बन्द गर्न भनेपनि पूर्ण रुपमा बन्द नभएपछि महानगरले दोस्रो पटक १ भदौदेखि बन्द गर्ने अभियान थालेको थियो ।
टिकट बुकिङ कार्यालय सडक चोकको एक सय मिटर वरपर खोल्न नपाउने, बुकिङ कार्यालयअन्तर्गत मुख्य कार्यालय गोंगबुस्थित नयाँ बसपार्कभित्र अनिवार्यरुपमा हुनुपर्ने, नयाँ बसपार्कदेखि महाराजगञ्ज र बाफलसम्म कुनै पनि कार्यालय खोल्न नपाउने महानगरले जनाएको छ ।
बुकिङ कार्यालयमा अनिवार्य भाडादर उल्लेख गरिएको बोर्ड राख्नुपर्ने, टिकट काट्न आउने सेवाग्राहीका लागि अनिवार्य आधारभूत आवश्यकता (पार्किङ, शौचालय, पानी, बत्ती, यात्रु बस्ने)लगायत व्यवस्था हुनुपर्ने, कार्यालयका कोठा कम्तीमा १० देखि १५ फिटको हुनुपर्ने, कर्मचारीले पोसाक र परिचयपत्र अनिवार्यरुपमा लगाउनुपर्नेलगायत व्यवस्था गरेको छ ।





