काठमाडौँ : काठमाडौँको त्रिपुरेश्वरमा १४ औं तिज मेला सुरु भएको छ । बुधवारबाट सुरु भएको मेलामा तिज विशेष सामग्रीहरु प्रदर्शनमा राखिएका छन् ।
‘युनाइटेड वल्र्ड ट्रेड सेन्टर’मा आउँदो तिजलाई लक्षित गर्दै आजबाट तिज मेला सुरु भएको हो । आजदेखि सुरु मेला १० गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनस्थलमा बोल्दै इभेण्ट एण्ड मार्केटिङका प्रबन्ध निर्देशक अनिश श्रेष्ठले मेलाबाट एक करोडौं रुपैयाँ कारोबार हुने लक्ष्य राखिएको बताए ।
उनले योभन्दा अगाडि २० हजार जनाले मेलाको अवलोकन गरेको भन्दै यस पटक ३० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको बताए । मेलामा लत्ताकपडा, कस्मेटिक, चुरापोते, गरगहना, विभिन्न परिकार लगायतका अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनि खरिद गर्न सकिनेछ । उनले मेलामा बंगलादेश, इङ्ग्ल्याण्ड लगायतका देशका ७० वटा स्टल राखिएको बताए ।
उनले यसअघि ४०-५० लाखसम्मको व्यापार हुने गरेकोमा यो पटक एक करोड रुपैयाँसम्म कारोबार हुने लक्ष्य लिएको बताए । मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।





