छाडा चौपायाको व्यवस्थापन छिटै गर्छौँ : मुख्यमन्त्री चौधरी

२०८० भाद्र ९, शनिबार

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले प्रदेशका मुख्य मुख्य सहरमा देखिएको छाडा चौपायाको व्यवस्थापन छिट्टै गर्ने बताएका छन् । शनिवार कपिलवस्तुको बुद्धभूमि नगरपालिकाद्वारा आयोजित छाडा चौपाया व्यवस्थापनसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले सो कुरा बताएका हुन् ।

चौधरीले प्रदेश विकास समिति गठन गरी छाडा चौपाया व्यवस्थापनको कार्य तत्कालै अघि बढाइने बताए । उनले लुम्बिनी प्रदेशभित्र रहेका १२ जिल्लाका १ सय ९ पालिका समावेश रहने गरी साझेदारीका रूपमा काम अघि बढाउने गरी गृहकार्य भइरहेको समेत बताए ।

प्रदेशले छाडा चौपाया व्यवस्थापनको विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको बताउँदै विज्ञ समूह गठन गरी एक महिनाभित्रै ग्रेडिङको काम सुरु गर्ने बताए । छाडा चौपायाका कारण किसानहरूले दुःख पाइरहेको भन्दै गाईलाई समस्याका रूपमा नभै वरदानका रूपमा लिनुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री चौधरीले वनसम्बन्धी अधिकार सङ्घमा नै राखिँदा निर्णय लिन अप्ठ्यारो परेको भन्दै आफूले सङ्घका वन लगायतका विभिन्न अधिकारहरू प्रदेशलाई दिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको बताए ।

लुम्बिनी प्रदेशका सदस्य तथा पूर्वमन्त्री बिष्णु पन्थीले गौशाला निर्माण गरी गाईलाई उत्पादन र रोजगारीसँग जोडेर व्यवस्थापनको काम अघि बढाउनुपर्नेमा जोड दिए । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले छाडा चौपायाको व्यवस्थापनका लागि भारतीय सीमा नाकाबाट प्रवेश गर्ने छाडा गाई गोरुलाई प्रवेश गर्न रोक लगाउनुपर्ने बताए ।

कार्यक्रममा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूले छाडा चौपायाको समस्या र समाधानको विषय आ–आफ्नो भनाइ राखेका थिए । पछिल्लो समय लुम्बिनी प्रदेशका बुटवल, भैरहवा तौलिहवा,नेपालगन्ज, कोहलपुरमा छाडा चौपायाको समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार