काठमाडौं : राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करी प्रकरणका आरोपी किशोर बस्नेत पक्राउ परेका छन्। अरु पक्राउ परेपछि भारत भागेका बस्नेतलाई सीआईबीले भारतबाटै पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
राजश्व अनुसन्धान विभागले सुन बरामद गर्नासाथ बस्नेत खोजिको सूचिमा थिए। तर उनी भागेर भारत पुगेका थिए। बस्नेतलाई बुधबार पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए। यसअघि सीआईबीले भन्सारका कर्मचारी गणेश पौडेललाई पनि पक्राउ गरेको थियो। पौडेल भने काठमाडौंबाटै पक्राउ परेको डीआईजी कडायतले बताए।
यो प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ। त्यसमध्ये ७ जना चिनियाँ नागरिक छन्। सुन तस्करी प्रकरणमा अहिलेसम्म उनीहरु नै मुख्य संलग्न देखिएका छन्। तर सीआईबीले घटनाको अनुसन्धान गरिरहेको छ। थप अनुसन्धानका लागि मंगलबार मात्रै सीआईबीका एसएसपी हङकङ पुगेका छन्।





