काठमाडौं : पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले व्यवसायीहरूको समस्या बुझ्न नसकेको बताए । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आयोजना गरेको अर्थतन्त्रमा देखिएको समसामयिक विषयक पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेको पाण्डेले सरकारले व्यवसायीमैत्री नीति नलिएको बताए । बैङ्क तथा वित्तीय संस्थाको चर्को ब्याजको मारमा परेका व्यवसायीहरूको सरकारले समस्या बुझ्न नसकेको उनले बताए । ‘सरकारले मासु पसलले बेच्ने मासुमा कर लगाएन । फ्रिजमा राखेर बेच्ने तयारी म म मा कर लगायो । कृषिजन्य बस्तुमा कर लगायो । सरकारले व्यवसायी क्षेत्रको समस्या बुझेन’–पाण्डेले भने ।
भाटभटेनी संचलाक मिन बहादुर गुरुङलाई पक्राउ गरेर सरकारले व्यवसायीलाई तर्साएको उनको भनाई छ । उनले भने,–‘मिन बहादुर गुरूङले २८ ओटा भाटभाटेनीको आउटलेट बोकेर भाग्छन् ? उनलाई जेल हालेर सरकारले व्यापारीलाई तर्सायो ।’
सरकारले व्यावसायिक वातावरण गराउन नसकेको उनको आरोप छ । नेपालको बढ्दो ब्याजदरले व्यवसायीहरू मारमा परेको उनको भनाई छ । उनले भने,–चिनले व्यावसायिक वातावरण बनाउन ब्याज घटायो । तर, नेपालमा ब्याजदर बढ्दो छ । यसले व्यवसायीहरू मार परे ।’
सोही अवसरमा सरकारले लघुवित्त तथा सहकारीलाई नियमन गर्न नसेको उनको भनाई छ । ‘सरकारले लघुवित्त र सहकारी नियमन गरेन । सहकारीले १६ प्रतिशत भन्दाबढि ब्याज लिन नपाउने नीतिले बैङ्कको चर्को ब्याजमा व्यवसायी परेका छन् । अहिले सहकारी विभागले दैनिक ५ हजारभन्दा बढी निक्षेप झिक्न नमिल्ने गर्याे । यसले बचतकर्ता मारमा परे ।’