पाँचथर : आफ्नो ठाउँमा अरुलाई नै भाडामा ‘सट्टा शिक्षक’ राखेर नियमविपरीतका गतिविधि गरेको खुलेपछि पाँचथरको फालेलुङ गाउँपालिकाले ५ वटा विद्यालयबाट तिनलाई तुरुन्त हटाउन पत्राचार गरेको छ ।
चार आधारभूत र एउटा माध्यमिक गरी ५ वटा विद्यालयका प्रधानाध्यापक र शिक्षकले आफ्नो काम गराउन ‘सट्टा शिक्षक’ राखेर आफूहरु अन्यत्रै काम गरिरहेको पाइएको हो । यो खुलेपछि गाउँपालिकाले सम्बन्धित विद्यालयहरुलाई पत्र लेख्दै चेतावनी दिएकाे छ ।
फालेलुङ- ३ को सरस्वती मावि, वडा ४ को नरेलुङ आधारभूत, वडा ६ का दीपज्योति, सिंहवाहिनी र बुढिथाम आधारभूत विद्यालयमा सट्टा शिक्षक राखेको भेटिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्वेले बताए । विभिन्न स्रोतबाट ती विद्यालयका प्रधानाध्यापक र शिक्षकले सट्टामा दोस्रो व्यक्ति राखेको गुनासो आएकाले हटाउन पत्राचार गरिएको उनको भनाइ छ ।
‘यसरी सट्टा शिक्षक राख्नु नियमविपरीत भएकाले हटाउन पत्राचार गरिएको हो । बेवास्ता गरेमा कानुनबमोजिम कारबाही गर्नेछौं,’ गाउँपालिकाका शिक्षा अधिकृत कृष्ण रिमालले भने ।
सट्टा शिक्षकलाई निरन्तरता दिएको पाइए माध्यमिक विद्यालयको हकमा प्रधानाध्यापक र लेखापाल तथा आधारभूत विद्यालयका हकमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति जिम्मेवार हुनुपर्ने गाउँपालिकाले पठाएको पत्रमा उल्लेख छ ।