चर्चित गीत ‘नरोउ माया सम्झेर मलाई’ राधाकृष्ण भर्सनमा रिलिज

२०८० भाद्र २०, बुधबार

काठमाडौं : विसं २०४० सालमा रिलिज भई बहुचर्चित बनेको लोक गीत ‘नरोउ माया सम्झेर मलाई’ कृष्ण भजन गीतको रुपमा भिडियोसहित ‘नरोउ राधा सम्झेर मलाई’ शीर्षकमा रिलिज भएको छ। श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा मंगलबार इन्टरनेटमार्फत् यो गीत सार्वजनिक गरिएको हो।

ओरिजिनल गीतका गायक हरिबहादुर राउतले नै भजन भर्सनमा स्वर दिएका छन्। पुरानो गीतमा युगल स्वर थिएन भने नयाँ गीतमा राउत र गायिका कोपिला तामाङ वाईवाले युगल स्वर दिएका छन्।

यस गीतका शब्द संकलक तथा संगीतकार माधव केसी हुन्। नयाँ गीतमा प्रकाश सापकोटा र बिदुर तिमल्सिनाले शब्द रचना गरेका छन्।

भिडियोमा अभिषेक श्रेष्ठ र संगम बिष्टले अभिनय गरेका छन्। श्रेष्ठ कृष्ण बनेका छन् भने बिष्ट राधा बनेकी छन्। संगम विसं २०७१ सालमा सौगात बिष्टले सबैभन्दा कान्छो निर्देशकको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ राख्न सफल चलचित्र ‘लभ यू बाबा’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड प्राप्त गरेकी थिइन्।

हरिबहादुर राउत र गोल्डेल हार्ट पिक्चर्सको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतको भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका छन्। छायाँकार दिनेश पराजुलीको रहेको छ भने प्रविन भट्टले सम्पादन गरेका छन्।

पहिले नै चर्चित बनेको लोकगीतलाई भजन भर्सनमा ल्याएर भक्तिभावमा दर्शकश्रोताबीचमा गीतको फरक स्वाद दिने प्रयास गरेको गायक राउतले बताए। ‘पुराना पुस्ताले अत्याधिक रुचाउनुभएको लयलाई नयाँ र आध्यात्मिक शब्दमा पुन:स्वरांकन गर्दा श्रोताले गीत संगीतको नयाँ अनुभूति लिनुहुनेछ भन्ने विश्वास लिएको छु’, राउतले भने।

पछिल्लो समय उत्कृष्ट भिडियोबीना गीत अपुरो हुने भएको कारण यसको भिडियोलाई पनि निकै मेहनतले बनाएको उनले बताए। गीतकार प्रकाश सापकोटाले यो भजन पनि माया प्रेममा नै आधारित रहेको बताए।

उनले भने, ‘हामीले सदिऔंदेखि कृष्ण र राधाको प्रेमचर्चा सुन्दै आएका छौं। त्यही प्रसंगलाई चर्चित गीतको लयमार्फत आम मानिसमा पुऱ्याउने उद्देश्यले बिदुरजी र मैले मिलेर रचना गरेका हौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार