कार्यकारी निर्देशकलाई अपशब्द प्रयोग गर्ने उपकार्यकारी निर्देशक के.सी. कारवाहीमा

२०८० भाद्र २१, बिहीबार

काठमाडौँ : नेपाल धितोपत्र बोर्डको उच्च व्यवस्थापनमा रहेका सम्पूर्ण कर्मचारीहरूले बोर्डका उपकार्यकारी निर्देशक रूपेश के.सी.ले आफ्नो पदीय मर्यादा बिर्सिएर, अनुशासनहीन र आचरण विपरित कार्य गरेको निष्कर्ष निकालेर सोही अनुसारको निर्णय गरे पश्चात धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले उपकार्यकरी निर्देशक रूपेश के.सी.लाई धितोपत्र बोर्डको कर्मचारी सेवा शर्त नियमावली बमोजिम कारवाहीको प्रकृया अगाडि बढाएका छन ।

के.सी.ले बोर्डमा कार्यरत अन्य कर्मचारीको व्यक्तिगत विवरण माग गरे पश्चात भएको उच्च व्यवस्थापनका कर्मचारीहरू  र  बोर्ड अध्यक्ष रमेश हमाल समेत उपस्थित बैठकमा उपकार्यकारी निर्देशक के.सी.ले बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठलाई अपशब्द प्रयोग गरेका थिए । के.सी.ले प्रथम श्रेणीमा रहेको कर्मचारीले जस्तो आचरण नदेखाएको, अनुशासनहीन व्यवहार प्रस्तुत गरेको तथा आफू भन्दा माथिल्लो तहको कर्मचारीलाई अपशब्द तथा असभ्य भाषा प्रयोग गरेको बैठकमा सहभागी एक कर्मचारीले बताए । के.सी.को उक्त व्यवहारका सम्बन्धमा उच्च व्यवस्थापनले मतैकताले निर्णय गर्दा बोर्ड अध्यक्ष हमालले पाँच बर्ष तलब वृद्धि रोक्का किन गर्नु नपर्ने भनी सफाइ पेश गर्न पत्र दिएका छन । धितोपत्र बोर्डको कर्मचारी सेवा शर्त नियमावली बमोजिम के.सी.ले सफाइ पेश गर्न बढीमा १५ दिनको समय प्राप्त गर्नेछन, निजको जवाफ चित्त बुझ्दो नभएमा बढीमा ५ तलब वृद्धि रोक्का हुने गरी कारवाही अध्यक्ष स्वयंले गर्न सक्नेछन । धितोपत्र बोर्डको कर्मचारी सेवा शर्त नियमावली अनुसार यस प्रकारको कारवाहीलाई सामान्य कारवाही भनी व्याख्या गरिएको छ ।

खुल्ला प्रतिस्पर्धाबाट तीन बर्ष अगाडि बोर्डको उपकार्यकारी निर्देशक भएका के.सी.को व्यवहारबाट बोर्डको उच्च व्यवस्थापन सन्तुष्ट थिएन । उनी यस अघि पनि बोर्डले खटाएको ठाँउ तथा काममा नगइ पटक पटक अटेर गरी बसेका कर्मचारी हुन । धितोपत्र बजारमा बाह्य सुशासन कायम गर्न लागि परेका बोर्ड अध्यक्ष हमालको आन्तरिक सुशासन सुधार गर्ने कार्यमा उनको यो पहिलो एक्सन हो ।  उनले धितोपत्र बजारमा कानून विपरित कार्य गर्ने कैयन बजार सहभागी, संचालक आदि लाई निष्फिक्री कार्वाही गरेर छुट्टै पहिचान स्थापित गरेका छन । कर्मचारी कै कारण धितोपत्र बोर्डको सेवा प्रवाह ढिला सुस्ती भैरहेको भन्ने जनगुनासो पटक पटक आइरहेको परिप्रेक्षमा बोर्ड अध्यक्ष हमालको यस्तो कार्यबाट बोर्डको आन्तरिक सुशासन समेत सुदृढ हुने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार