विराटनगर : कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापाले नेपाली कांग्रेस र नेकपा एमालेले आधा आधा बाँडेर सरकार चलाउन संभव रहेको बताएका छन् ।
नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथग्रहणपछि पत्रकारले उनलाई सोधेका थिए, ‘कांग्रेस र एमालेले सहमति गरेर आधा आधा कार्यकाल बाँड्ने गरी सरकार बनाउन सकिन्छ कि सकिँदैन ?’
थापाले भने, ‘शीर्ष नेतृत्वबाट यस्तो निर्णय हुन सकेको छैन, तर यहाँले भनेको जस्तो संभव छ ।’ उनले कार्की नेतृत्वको सरकारले ३० दिन भित्रमा विश्वासको मत नपाएमा संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार बन्ने र त्यो सरकारको दाबी गर्न आफूसँग ४७ मत भएको उनले बताए ।
धारा १६८ को उपधारा ५ अनुसारको सरकार आफूले बनाउने र विश्वासको मत नपाए कोशी प्रदेश मध्यावधीमा जाने पनि उनले बताए । तर आफूहरुले सकेसम्म मध्यावधीमा जान नपरे हुन्थ्यो भन्ने चाहेको थापाले स्पष्ट पारे ।





