जाजरकोटमा अख्तियारको टोलीमाथि आक्रमण, तीन जना पक्राउ

२०८० भाद्र २२, शुक्रबार

सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि जाजरकाेटमा आक्रमण भएको छ ।

भेरी नगरपालिका–५ को निर्माणाधीन वडा कार्यालयको भवन निरीक्षण गर्न पुगेको टोलीमाथि आक्रमण भएको हो ।  आक्रमणबाट एक जना घाइते भएको प्रहरीले जनाएको छ । 

‘निरीक्षणका लागि अख्तियारबाट पाँच जनाको टोली आउनुभएको थियो,’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोक्काले भने,‘ आक्रमणबाट चालक मानबहादुर ठाडा मगर घाइते हुनुभएको छ ।’अख्तियारको गाडी चालक मानबहादुर वीरेन्द्रनगर नगरपालिका–११ का हुन् । उनलाई मुक्काले हानी घाइते बनाइएको प्रहरीले बताएको छ । उनको अहिले स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको रोक्काले बताए ।

उनका अनुसार घटनामा संलग्न सोही ठाउँका २४ वर्षीय वीरेन्द्र चन्द, किरण शाही, चक्र बहादुर मल्ललाई प्रहरीले पक्राउ गरिसकेको छ । भवन निर्माणमा अनियमितता भएको विषयमा अख्तियारको टोली निरीक्षण गर्न त्यहाँ पुगेको थियो । आवश्यक कागजातहरूको अध्ययन गरिरहेका बेला आक्रमण भएको डीएसपी रोक्का बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार