काठमाडौँ : निवर्तमान मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्रीले केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई मनाए मात्रै कोशी प्रदेशमा सहमतिको सरकार बन्ने सम्भावना रहेको बताएका छन् । केन्द्रीय गठबन्धनका नेताहरूलाई मनाए कोशीमा एमाले–कांग्रेसको सरकार पनि बन्ने सम्भावना रहेको उनले बताए ।
नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहणपछि पत्रकारसँग कुराकानी गर्दै थापाले सहमतीय सरकार बनाउन अब मुख्यमन्त्रीले पहल गर्नुपर्ने बताए । उनले दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने कुरा उठे पनि आफूले एक्लै निर्णय गर्न नसक्ने बताए ।
‘गठबन्धन दलका शीर्ष नेताबाट सहमति भयो भने मात्रै यो प्रदेशमा सहमतिको सरकार बन्छ । अर्को– दुई ठूला दल मिलेर सरकार बनाउनु पर्छ भन्ने आवाज उठे पनि मैले एक्लै निर्णय गर्ने कुरा भएन । केन्द्रीय गठबन्धनले निर्णय गर्ने हो । अब मुख्यमन्त्रीज्यूुले पहल गर्नु पर्यो,’ उनले भने ।
कांग्रेस संसदीय दलका नेता थापाले सहमतिको सरकार नबने मध्यावधि नै अन्तिम विकल्प भएको उल्लेख गरे । कांग्रेस निर्वाचनसँग खुट्टा कमाएर नबस्ने भन्दै उनले मध्यावधिका लागि तयार रहेको पनि बताए ।
नवनियुक्त मुख्यमन्त्री कार्की पनि सहमतीय सरकारको पहलमा लाग्ने उनले विश्वास व्यक्त गरे । प्रदेशमा स्थायित्व लागि सहमतिको सरकार आवश्यक रहेकाले सबै दलहरूसँग छलफल गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।





