लुम्बिनी : नेकपा (एमाले) लुम्बिनी प्रदेशमा निर्वाचन प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास भएको बताएका छन् ।
नेकपा (एमाले)को यही साउन १६ गतेदेखि सुरु भएको प्रथम प्रदेश अधिवेशनबाट सबै पदमा सहमतीय प्रक्रियामा नेतृत्व छनोट असम्भव भएपछि निर्वाचन भएको थियो । निर्वाचन प्रक्रियालाई निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित राधाकृष्ण कँणेल र उपविजेता हरिप्रसाद रिजालले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई अवलम्बन गरिएको बताए ।
अध्यक्ष राधाकृष्ण कँडेलले भर्खरै सम्पन्न पार्टीको प्रथम अधिवेशनलाई गुट र उपगुटका रुपमा बुझाउने गरी चलेका प्रचारप्रति आपत्ति जनाए । अध्यक्ष कँडेलले जारी गर्नुभएको विज्ञप्तिमा पार्टीको आन्तरिक लोकतन्त्रलाई लिएर भइरहेका यस्ता प्रचारप्रति पूर्णरुपमा सजग र सचेत रहेको उल्लेख गरे । “हाम्रो पार्टी नेकपा (एमाले) श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वलाई सर्वाेपरी मान्दै पार्टीको विधान महाधिवेशन, राष्ट्रिय महाधिवेशनका नीति, विचार, सिद्धान्त आत्मसात् गर्दै एकताबद्ध, सशक्त र सुदृढ पार्टी निर्माणमा हाम्रो भूमिका हुनेछ”, उनिले भने ।
यस्तै निर्वाचनमा उपविजेता बन्नुभएका पार्टीका नेता रिजालले पनि पार्टीको प्रथम प्रदेश अधिवेशनमा लोकतान्त्रिक अभ्यासलाई सफल पार्नलाई महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई आभार व्यक्त गरे ।
साथै पार्टीको आन्तरिक निर्वाचनमा जसले जिते पनि एमालेको जीत ठानेर अघि बढ्न सबैमा आह्वान गर्दै आफू पनि पार्टीको काममा जतिबेला पनि दृढ सङ्कल्पका साथ अगाडि बढ्न सदैव प्रयत्न गरिनै रहने प्रतिबद्धता जाहेर गरे ।





