ललितपुर : ललितपुरमा रहेको काठफोर्ड इन्टरनेसनल कलेजले नेपालमा पहिलोपल्ट बीबीए प्लस र बीबीएम प्लस कार्यक्रम एक विशेष समारोहकाबीच हिमालय होटलमा उद्घाटन गरेको छ । कलेजका प्रिन्सिपल डा राजेन्द्र पोखरेलले उद्घाटन उक्त समारोहमा नेपालका प्राज्ञिक क्षेत्र र निजी क्षेत्रका व्यक्तित्वहरू, विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा काठफोर्ड कलेजका व्यवस्थापन विभागका विभागीय प्रमुख रोशन थापाले बीबीए प्लस र बीबीएम प्लस कार्यक्रमको सम्बन्धमा विस्तृत विवरण प्रस्तुत गरेका थिए । उक्त अवसरमा व्यवस्थापन संकायको नयाँ विशिष्ट पाठ्यक्रम र यसले समाविष्ट गरेका आधुनिक विषयहरू जस्तै तथ्याङ्क विश्लेषण, क्लाउड प्रविधि, डिजिटल मार्केटिङ, वित्तीय विश्लेषण र परियोजना व्यवस्थापनका बारेमा जानकारी प्रदान गरिएको थियो ।
उक्त प्रस्तुति मार्फत यी विषयहरूले विश्व श्रम बजारको परिवर्तनशील माग अनुसार विद्यार्थीलाई कसरी तयार पारी उनीहरूलाई आधुनिक श्रम बजारमा सजिलै रोजगार पाउन सक्ने गतिशील मानवश्रोत बनाउन भूमिका खेल्छ भन्ने कुरा अवगत गराइएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्मा, त्रिभुवन विश्वविद्यालय कार्यकारी समिति सदस्य प्राडा महानन्द चालिसे, ईसेवाका सीईओ जगदीश खड्का, नेपाल बैंक लिमिटेडका सहायक सीईओ मनोज ज्ञवाली लगायतले विद्यमान डिजिटल व्यावसायिक क्षेत्रका लागि विद्यार्थीहरूलाई तयार पार्न बीबीए प्लस र बीबीएम प्लस को भूमिका निर्णायक रहने कुरामा जोड दिएका थिए । त्यस्तै उनीहरूले प्रविधिमुखी विश्वमा सफल हुन आवश्यक सीप र ज्ञानबाट विद्यार्थीहरूलाई यी विषयहरूले कसरी सामर्थ्य प्रदान गर्दछ भन्ने कुरामा जोड दिएका थिए ।





