तीन क्वीन्टलभन्दा बढी सुन तस्करी भएको सीआईबीको निष्कर्ष

२०८० भाद्र २७, बुधबार

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘ब्रेक सु’लगायतका माध्यमबाट तीन क्वीन्टलभन्दा बढी सुन तस्करी भएको दाबी गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबीले यस्तो दाबी गरेको हो ।

त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले ५० जनालाई प्रतिवादी बनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदनमा बुझाउन लागेको सीआईबीले प्रतिवादीमध्ये ३२ जनालाई पक्राउ गरेको बताएको छ भने १८ जना फरार रहेको जनाएको छ ।

सीआईबीकी प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी दिएअनुसार पक्राउ पर्नेमा २३ जना नेपाली र नौ जना विदेशी नागरिक छन् । फरार हुनेमा १४ विदेशी छन् भने चार जना नेपाली नागरिक छन् । सीआईबीले माओवादी केन्द्र निकटकी अमलाई रोक्का मगरलाई पनि फरारको सूचीमा राखेको छ । रोक्का चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् ।

सीआईबीले ३ क्विन्टल ७८८ ग्राम सुन तस्करी भएको दाबी गर्दै तीन अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

सीआईबीले सुन प्रकरणमा आरोपितमाथि भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार