काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले कम्पनीको आईपीओ आज दिउँसो बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा कुल १५ लाख ८४ हजार ५ सय ९७ जनाको आवेदन परेपनि १४ लाख ७ हजार २ सय ३७ जना मात्र सेयर पाउनको लागि योग्य भएको क्यापिटलले जनाएको छ । जसमध्ये १ लाख ७७ हजार ३ सय ६० जना आवेदन अयोग्य भएका छन् ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । यस हिसाबमा गोलाप्रथाबाट ९ लाख जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदक भने हात खाली भएका छन् ।
कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई ९० लाख कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो ।





