काठमाडौँ : दुर्लभ वन्यजन्तु सुनौलो कछुवा कारोबारमा संलग्न ६ जनालाई प्रहरीले काठमाडौँको टोखाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे घर भएका जयराम घिमिरे, रहर तामाङ, सुदर्शन राई, नारायण थामी, रुपक बस्नेत र उदयपुरका राजकुमार राई छन् । प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमरबहादुर थापा क्षेत्री नेतृत्वको टोलीले कछुवासहित आरोपीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए ।
टोखा नगरपालिका–५ स्थित सुनकोशी क्याफेमा बसेर आरोपीतहरुले ३५ लाखमा कछुवा बेच्ने ‘डिल’ गरेका थिए । उनीहरुलाई कछुवासहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसारमा पठाएको एसपी ढुंगेलले बताए ।





