देश हाँक्ने शक्ति कम्युनिष्टमा मात्र छ : माधव नेपाल

२०८० आश्विन १५, सोमबार

झापा : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का  अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा देश हाँक्न सक्ने शक्ति कम्युनिष्टमा मात्रै भएको बताएका छन् ।

झापाको काँकडभिट्टामा समाजवादी जागरण अभियानको उद्घाटन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् । नेपालमा कम्युनिष्ट पार्टी बाहेक कुनै पार्टीले देश हाँक्न नसक्ने दाबी उनले गरे ।   

सरकारले जनताको पीरमर्का नबुझेको उनले टिप्पणी गरे । समस्या समाधान गर्नतिर सरकार लाग्न छाडेर अन्य काममा व्यस्त भएको उनले बताए। “हिजो मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणबाट आएपछि जनताका समस्याको बारेमा पार्टीका तर्फबाट  सरकारले सम्बोधन गर्नुपर्ने कामहरूका बारेमा ज्ञापनपत्र बुझाएका छौँ” उनले भने ।

पूर्व प्रधानमन्त्री  नेपालले युवालाई रोजगार, कृषि उत्पादनमा लगायतका क्षेत्रमा लगाउन आवश्यक रहेको बताए । सोही अभियानस्वरुप आफ्नो दल जागरण अभियान झापाबाट सुरु गरेको उनले बताए । 

‘समाजवादको बाटोमा जान कम्युनिस्टबिच एकता आवश्यक रहेको भन्दै चार वटा पार्टीसँग मोर्चाबन्दी गरेको पनि उनले बताए ।  मोर्चामा आउन चाहने अन्य कम्युनिष्ट पार्टीलाई समेत स्वागत गर्न मोर्चा तयार रहेको नेपालको भनाइ छ ।पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले दलाल पुँजीवादी शासनले देश कब्जा गरेकाले जनताको गाँस, बास र कपासको व्यवस्था  हुन नसकेको बताए ।  

महासचिव घनश्याम भुसालले गणतन्त्रले बाटो बिराएका कारण राजनीति बिग्रिएको बताए । कृषिमा निर्भर ५९ लाख परिवारमध्ये ३० लाख परिवारलाई व्यवस्थापन गरेर कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ पार्टीले  अभियान सुरु गरेको भुसालको भनाइ छ ।  

कार्यक्रममा पार्टीका नेताहरू उपाध्यक्ष  घनेन्द्र बस्नेत, कृषि मन्त्री वेदुराम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, दीपक मनाङ्गे लगायतका नेता तथा कार्यकर्ताहरूको  सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार