नेप्सेमा १९ अंकको गिरावट, परिसूचक १९ सयभन्दा तल झर्‍यो

२०८० आश्विन २३, मंगलवार

काठमाडौँ : यो साता लगातार तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत आइतबार करिब साढे ३६ अंक, सोमबार साढे १२ अंकले घटेको नेप्से मंगलबार करिब १९.०६ अंकले घटेको हो । योसँगै नेप्से परिसूचक १ हजार ८ सय ८९.५९ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.९९ प्रतिशतले कमी हो ।

नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको थियो । यसलाई राष्ट्र बैंकको पछिल्लो नीतिगत संशोधनलाई लगानीकर्ताले सकारात्मक रूपमा नलिएको रूपमा विश्लेषण गरिएको छ । पछिल्ला महिनामा सेयर बजार बढ्न नसक्नुको प्रमुख कारकका रूपमा हेरिएको सेयर कर्जाको सीमा नेपाल राष्ट्र बैंकले गत बिहीबार बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनाएको छ ।

यसअघि यस्तो सीमा व्यक्ति र संस्था सबैका लागि १२ करोड रुपैयाँ थियो । उक्त सीमा बढेसँगै सेयर बजारमा सुधार आउने अपेक्षाविपरीत आइतबार, सोमबार र मंगलबार नेप्से उच्च अंकले घटेको लगानीकर्ताको दाबी छ । लगानीकर्ताको अपेक्षा सेयर कर्जाको सीमा हट्ने वा धेरै माथि रहने अनुमान गरे पनि राष्ट्र बैंकले थोरै मात्र बढाएकाले बजारमा सकारात्मक असर नदेखिएको उनीहरुको भनाइ छ ।

मंगलबार ४४ हजार कारोबारबाट ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट १ अर्ब २८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत सोमबार सेयर बजारमा १ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । मंगलबार कारोबारमा आएकामध्ये १९३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ३१ वटा कम्पनीको बढ्यो भने ९ वटाको सेयर मूल्य स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार