एनआरएनको निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ : प्रधानमन्त्री प्रचण्ड

२०८० आश्विन २९, सोमबार

काठमाडौँ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन स्वच्छ र निष्पक्ष हुने बताएका छन् । माओवादी केन्द्र प्रवास समन्वय समितिले सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको अन्तरक्रियामा उनले ढुक्क भएर चुनावी प्रतिस्पर्धामा लाग्न आग्रह गरे । निर्वाचनमा सर्वसम्मत उम्मेदवार बनाउन गठबन्धनबाट पहल जारी रहेको पनि उनले जानकारी दिए ।

प्रचण्डले स्वच्छ प्रतिस्पर्धाबाट यो पटक मध्यपूर्वले नेतृत्वमा पाउने विश्वास व्यक्त गर्दै एकताबद्ध र दृढतापूर्वक काममा लाग्न निर्देशन दिए । ‘स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध छ । निश्चिन्त भएर चुनावी प्रतिस्पर्धामा लाग्न म आग्रह गर्छु । सर्वसम्मत गराउने विषयमा छलफल अन्तिम समयसम्म जारी रहन्छ’, उनले भने ।

गैरआवासीय नेपालीहरूको नागरिकताको समस्या समाधान अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कामको सुरुवात प्रवासी नेपालीबाट भएको र त्यसलाई अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू र स्वरोजगारमा रहेका श्रमिकहरूलाई कोषमा आबद्ध गर्ने कुरा भइरहेका उनले बताए । अर्को निर्वाचनमा प्रवासी नेपालीले समेत मतदान गर्न पाउने गरी सरकारले प्रक्रिया अगाडि बढाएको उनले जिकिर गरे । सोही अनुसार निर्वाचन आयोगले विभिन्न ठाउँमा पुगेर अध्ययन गरिरहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्यायको पक्षमा प्रक्रिया सरकारले अगाडि बढाएकाले राम्रो कामको प्रचार गर्न आग्रह गरे ।यसैगरी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले देशको समृद्धिका लागि योगदान दिन गैरआवासीय नेपालीहरूलाई आग्रह गरे । यसैगरी प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले सर्वसम्मत नेतृत्वका लागि प्रधानमन्त्री तहबाटै पहल गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष ओम शर्मासहित प्रवास समन्वय समितिका पदाधिकारी र एनआरएनएका उम्मेदवार तथा अभियन्ताहरू सहभागी थिए । एनआरएनको ११ औँ महाधिवेशनमा राजेन्द्रकुमार(आरके)शर्मासहित डा. बद्री केसी र महेशकुमार श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार