काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय र महामन्त्रीद्वयलाई छलफलका लागि बोलाएका छन्। उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासँग सभापति देउवाले छलफल गर्न लागेका छन्।
निवास धुम्बाराहीमा सोमबार अपराह्न ४ बजे छलफल हुनेछ। कोशीमा विकसित राजनीतिक घटनाक्रम, समसामयिक राजनीति र पार्टीका आन्तरिक विषयमाथि सभापति देउवाले उनीहरूसँग कुराकानी गर्न लागेका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठक भनेर नबोलाइएको बताए।
‘सभापति, उपसभापतिहरू र महामन्त्रीहरू दिनहुँजसो छलफल हुन्छ, आज पनि त्यसैको निरन्तरता हो,’ उनले भने। कोशीमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री भएका छन्। कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए।
सभापति देउवाले सत्ता गठबन्धनबाट कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमतिमा हस्ताक्षर गरेका थिए। तर नेता शेखर कोइराला पक्षका कोशीका ८ सांसदले उक्त निर्णय अस्वीकार गरेर कार्कीलाई अघि सारेका थिए। मुख्यमन्त्री कार्कीले कांग्रेस र एमालेबाट एक-एक जनालाई मन्त्रीसमेत बनाइसकेका छन्। कांग्रेसका महामन्त्री गगन र विश्वप्रकाशले कोशी मुख्यमन्त्री चयन गर्दा सभापति देउवा र नेता कोइरालाले संस्थागत रूपमा छलफल नगरेकोमा असन्तुष्टि जनाउँदै आएका थिए।





