गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु उपलब्धि हो : प्रधानमन्त्री दाहाल

२०८० आश्विन ३०, मंगलवार

काठमाडाैं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीले संवैधानिक अधिकार प्राप्त गरेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आजदेखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको अवसर पारेर गैरआवासीय नेपालीलाई नागिकता वितरणको सुरुवात गर्दै उनले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था भएको बताएका हुन्।

नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था भए पनि कानुनी व्यवस्था गर्न निकै ठूलो संघर्ष गर्नुपरेको स्मरण गर्दै उनले भने, ‘पचासौं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ र यो निकै ठूलो उपलब्धि हो।’

आफू प्रधानमन्त्री भएलगत्तै राष्ट्रपतिबाट नागरिकता विधेयक जारी भएको र त्यससम्बन्धी नियमावली बनेर एनआरएनले नागरिकता पाउने बाटो खुलेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यो उपलब्धि कसको संघर्ष र सफलताबाट प्राप्त भयो भन्ने कुरा सबै गैरआवासीय नेपालीलाई बुझाउन एनआरएन नेतृत्वलाई आग्रह गरे।

आज नागरिकता पाएका एनआरएन अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीको नाम लिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई विश्वास छ- विदेशमा रहनुभएका लाखौं गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको संघर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथीहरू र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार