पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक सवारीको भाडा नघट्ने

२०८० आश्विन ३०, मंगलवार

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार रातिबाट लागु हुनेगरी पेट्रोल प्रतिलिटर ११ रुपियाँ  र डिजेल प्रतिलिटर पाँच रुपियाँ घटाए पनि सार्वजनिक सवारी साधनको भाडा भने नघट्ने भएको छ । 

काठमाडौँमा पेट्रोलको मूल्य अब प्रतिलिटर १७२ रुपियाँ पर्ने भएको छ । डिजेलको मूल्य प्रतिलिटर १६८ रुपियाँ पर्नेछ । निगमले पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीमा रहेको जनाएको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यको आधारमा नेपालमा पनि मूल्यलाई बढाउने वा घटाउने गरिन्छ ।  निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि सार्वजनिक सवारीको भाडा भने नघट्ने बताइएको छ । 

यातायात व्यवस्था विभागले अन्तरप्रदेश र उपत्यकामै चल्ने सार्वजनिक सवारीको भाडा नघट्ने जनाएको छ । विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार अहिले सार्वजनिक सवारीको भाडादर घट्ने सम्भावना छैन । पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत मूल्य घटी वा बढी भएको अवस्थामा मात्र सार्वजनिक सवारीको भाडादर पनि त्यहीअनुसार बढी वा घटी हुने उनको भनाइ छ । 

उनले भने, “पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत मात्र बढेको वा घटेको घटेको खण्डमा मात्र सार्वजनिक सवारीको भाडादर घट्छ । घटेको मूल्य पाँच प्रतिशत पुगेको छैन, त्यसैले भाडादर घट्दैन ।” उनका अनुसार सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा भाडा घटाउने र बढाउने गरिएको छ। जसमा १३ वटा सूचकसहित मापदण्ड बनाइएको छ।

“यसमा इन्धनको हकमा ३५ प्रतिशत छुट्याएको छ, पाँच प्रतिशत तलमाथि हुनुपर्छ” उनले भने, “पाँच प्रतिशतभन्दा बढी डिजेलको मूल्य घट्यो भने भाडा घट्ने हो र पाँच प्रतिशत वृद्धि भएमा भाडा बढ्ने हो तर यसमा पाँच प्रतिशत तलमाथि भएन, त्यसैले भाडा घट्न सक्दैन ।” पहिले मूल्य वृद्धि भएको अवस्थामा पनि बढेको थिएन । त्यसैले अहिले थोरै मूल्य घट्नेबित्तिकै भाडादर नघट्ने उनको भनाइ छ । 

गत साउन १ गते इन्धनको मूल्य घटेको बेला विभागले अन्तरप्रदेशमा चल्ने सार्वजनिक र मालवाहक सवारीसाधनको भाडा २ दशमलव १३ प्रतिशतले घटाएको थियो। यसैगरी, मालवाहक सवारीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको थियो। पछि चौतर्फी आलोचना भएपछि ११ गते बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पनि बागमती प्रदेशभर चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको थियो ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार प्रदेशभर चल्ने लामो रुटको सवारीमा २.३० प्रतिशत, सिटी बसहरूमा ३.२६ प्रतिशत र मालवाहक सवारीसाधन (ट्रक) मा ३.१ प्रतिशतले भाडा घटाइएको थियो। तर यो पटक भने पेट्रोलियम पदार्थको मूल्य घटे पनि भाडादर नघट्ने भएको हो।

बढी भाडा लिए उजुरी गर्नु

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरदत्त पनेरुले सार्वजनिक सवारीले बढी भाडा असुली गरे सम्बन्धित ठाउँका उजुरी दिन आग्रह गरेका छन् । धेरैले मौखिक रूपमा मात्र ठगिएको गुनासो गरे पनि आधिकारिक प्रमाणसहित उजुरी गर्न उनको आग्रह छ । 

उनले भने, “यात्रुहरू आफू ठगिएको खण्डमा विभिन्न ठाउँमा हेल्पडेस्कहरू रहेका छन् । त्यहाँ उजुरी दिनुहोला कारबाही हुन्छ । मौखिक रुपमाभन्दा पनि प्रमाणसहित आफ्ना समस्या राख्नुभयो भने कारबाहीका लागि सहज हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार