हुम्ला : कर्णाली करिडोरको सलीसल्लामा बेलिब्रिज जडान गर्ने क्रममा लडेर गम्भीर घाइते हुनु भएका २० वर्षीया सुरेश चौधरीको निधन भएको छ । सलीसल्लामा सञ्चालनमा रहेको हिमाल हेल्थ पोलिक्लिनिकमा प्राथमिक उपचार गरिए पनि उपचार सम्भव नहुँदा थप उपचारका लागि बाजुराको कोल्टी लैजाँदै गर्दा चौधरीको बाटोमै मुत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले सलीसल्लाको बेलिब्रिज जोड्ने क्रममा चिप्लिएर गम्भीर घाइते भएका बाराको कोलबी नगरपालिका–६ सनबार गाउँ घर भएका चौधरीको मृत्यु भएको बताए। चौधरी गत मङ्गलबार बेलिब्रिजको नटबोल्ड कस्ने क्रममा चिप्लिएर नदी किनारमा खस्दा गम्भीर घाइते भएका थिए । घाइते भएका चौधरीको टाउको र ढाडमा चोट लागेको थियो ।
पोलिक्नीकले उपचार नहुने र सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएपछि घाइते चौधरीलाई बोलेरो जीपमा कोल्टीतर्फ लगिएको हो ।
जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालले नजोडिएको नेपालको एकमात्र जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोड्ने कर्णाली कोरिडोर सडकअन्तर्गत सर्केगाड र चंखेली गाउँपालिकाको सलीसल्लामा तत्कालका लागि बेलीब्रीज जडान गरि तत्काल सर्केगार्ड गाउँपालिकाको स्याल्तडीसम्म यातायातका साधन सञ्चालन गर्न लागिएको छ ।





