मोरङ : कोशी प्रदेशमा राप्रपाद्वारा प्रमुख प्रतिपक्षी दलमा दाबी गरेको छ । राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बिहीबार सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसमक्ष प्रमुख प्रतिपक्षी दलका लागि दाबी पेस गरेका हुन् ।
सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई प्रदेशसभाका राप्रपा बाहेका सबै दलले विश्वासको मत दिएकाले प्रमुख प्रतिपक्षी दलको सुविधाका लागि सिटौलाले दाबी पेस गरेका छन् ।
मुख्यमन्त्री कार्कीले प्रदेशसभामा बुधबार पेस गरेको विश्वासको मत लिने प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत परेको थियो । कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा गत शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई ९३ सदस्यीय प्रदेशसभामा एमालेका ३९, सत्ता गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ जना प्रदेश सांसदले विश्वासको मत दिएका थिए । ६ जना प्रदेश सांसद रहेको राप्रपाका ५ जना प्रदेश सांसदले भने विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।





