युवाहरु विदेश गएपछि खतरामा थारु सखिया नाच

२०८० कार्तिक ५, आईतवार

घोराही : नेपालीहरुको घर–घरमा वडादसैैँ भित्रिसकेको छ । घरदेखि बाहिर रहेका मानिसहरु दसैं मनाउन घर फर्किरहँदा गाउँघरमा दसैंको चहलपहल समेत बढेको छ ।

गाउँघरमा दसैंमा पिङ बनाउनेदेखि थारु समुदायले एक साताअघिदेखि सखिया नाच नाच्न थालेका छन् । दसैं पर्व सरु भएसँगै थारु बाहुल्यता रहेका बस्तीहरुमा सखिया नाच्न थालिए पनि पहिलेजस्तो अहिले सखिया नाचको रौनक गाउँघरमा देखिएको छैन ।

थारु बस्तीहरुमा दसैैको चहलपहल समेत बढाउने सखिया नाचप्रति युवा पीढिको चासो कम हुँदा पछिल्लो समय नाच हराउँदै जान थालेको हो । सखिया नाचमा युवतीहरू सामुहिक रूपमा नाच्ने र पुरुषहरूले मादल बजाउने गर्छन् । धार्मिक एवं संस्कृतिसँग जोडिएको थारु समुदायको सखिया नाचको आफ्नै विशेषता रहेको छ ।

यो नाचमा भागवत पुराणमा आधारित रहेर नाच गरिने थारु संस्कृतिकर्मी बेझलाल थारुको भनाइ छ । उनका अनुसार पहिले श्रीकृष्ण जन्माष्टमीदेखि नै गाउँभरिका मानिसहरु जम्मा भएर सखिया नाच्ने गर्दथे । पछिल्लो समय नाच्ने मानिसहरु हराउँदै गएको उनको बुझाइ छ ।

उनले भने, ‘पहिले करिव एक महिनासम्म सखिया नाच नाच्ने गरिन्थ्यो । दिनभरि खेतबारीमा काम गरेर बेलुकी सवै जना महतोको घरमा जम्मा भएर सखिया नाच रमाइलोसँगै बस्ती नै उल्लासमय हुनेगरी नाचिन्थ्योे ।’ पछिल्लो समय युवा पुस्ताको विदेश पलायनसँगै आफ्नो  संस्कृति संरक्षणमा ध्यान नदिंदा सखिया नाच खतरामा पर्दैगएको उनले चिन्ता व्यक्त गरे ।

केही बर्षअघिसम्म गाउँमा सखिया नाच नाच्ने गरिए पनि पछिल्लो समय हराउँदैगएको घोराही उपमहानगरपालिका –१७ निवासी रामप्रसाद चौधरीले बताए । पहिले सखिया नाच्दा दसैंको समय गाउँ नै रमाइलो हुन्थ्यो । अहिले आधुनिक गीतसंगीतको असरले थारु समुदायको मौलिक नाच हराउँदै गएको उनको भनाइ छ ।

उनले भने, ‘सखिया नाच थारु समुदायसँग जोडिएको ऐतिहासिक नाच हो, तर अहिले यो नाच नाच्ने गाउँमा मानिसहरु नै छैनन् । हेर्न जाम भने पनि टाढा अर्काे गाउँहरुमा जानुपर्ने बाध्यता छ ।’ पछिल्लो समय रोजगारी र पढाइले थारु समुदायका नयाँ पुस्ताहरु बहिर जानेभएकाले पनि नयाँ पुस्तामा सखियाको चासो नदेखिएको उनको भनाइ छ ।

आफ्नो मौलिक संस्कृति बचाउनका लागि ध्यान दिनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए। अग्रजहरुले यसको संरक्षणका लागि चिन्ता चासो राख्ने गरे पनि नाच्ने युवाहरु गाउँमा नहुने भएपछि समस्या भएको स्थानीयको भनाइ छ । सखिया नाच सामुहिक नाचिने नाच भएकाले धेरै जनाको साथ सहयोगको खाँचो पर्छ ।

कसरी नाचिन्छ सख्या 

थारु संस्कृतिविद् एवं थारु मटावा, बडघर महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीकाअनुसार सख्या नाचको नेतृत्व युवतीहरुको मुख्य व्यक्तिले गर्छन् । जसलाई  मोह्रिन्या भनिन्छ ।  उनको सहयोगीका रुपमा दोस्रो व्यक्ति सहयोगी हुने गर्छन् । यी दुई जनाको पछि १५ देखि ४० जना युवतीहरु लहरै लाममा सखिया नाच्ने गर्छन् ।

सखिया नाच्दा गाउँअनुसार बठिन्याहरुको उपस्थिति हुन्छ, जुन गाउँमा जति धेरै युवतीहरु हुन्छन्, त्यहीअनुसार नाचका लागि उपस्थिति समेत हुनेगर्छ । सखिया नाच र गीत एउटै भए पनि गाउँ र ठाउँअनुसार फरक फरक किसिमले नाच्ने गरिएको उनको भनाइ छ । यो नाच मटावा, बडघरको आँगनमा नाचिन्छ ।

दिनभरी खेतबारीको काम सकाएर रातिमा सख्या नाच नाच्ने गर्दछन् । तर राजा टीका अर्थात नवमीको दिनदेखि बडा दशैंको दिनसम्म भने थारु समुदायले दिउँसैदेखि सख्या नाच नाच्छन् । भागवत पुराणमा भएको कथाका आधारमा नाचिने भएकाले थारु अगुवाहरुले सखिया नाचलाई लोककाव्य र महागाथा भएको बताउने गर्दछन् ।

सखिया अर्थात् सख्या 

थारु संस्कृतिविद् चौधरीका अनुसार सखिया नाच धार्मिक तथा सांस्कृतिक महत्वसँग जोडिएको छ । सखिया नाचमा थारुका हरेक देवीदेउताका नामलाई सम्बोधन गरेर गीत गाउने गरिएको भन्दै थारु संस्कृतिविद् चौधरीले भने, ‘देवी देउतासँगै जमिनमा बस्ने सबै जीवजन्तुको नामलाई सम्बोधन गरेर सख्या गीत गाउने गरिन्छ । यसरी सख्या नाचेपछि गाउँँमा शान्ति कायम हुने, गाउँको सुरक्षा हुने र खेतबारीमा रोपेका अन्नबाली राम्रो हुने जनविश्वास रहेको गरिन्छ । लेख्यमा सखिया लेखिए पनि बोलीचालीमा सख्या नाच भन्ने प्रचलन रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार