कालीकोट : कालीकोटको रास्कोट नगरपालिका ३ का जगत फडेरा अहिले भारतको केदारनाथ क्षेत्रमा हुनुहुन्छ । तत्कालीन माओवादी आन्दोलनका लडाकु फडेरा परिवार पाल्न रोजगारी गर्न केदारनाथ पुगेका छन् ।
एक वर्षदेखि केदारनाथमा उहाँ लगायतका पूर्व लडाकुहरुको समुहले डोली बोकिरहेको छ । जनमुक्ती सेनाका कम्पनी कमाण्डर फडेरा शान्तिप्रक्रियापछि वाइसिएलमा रहे । पार्टीको निर्देशनअनुसार आफुलाई वाइसिएलमा बस्न भनिएका कारणले सेना समायोजनमा पर्न नसकेको उनको भनाइ छ । अहिले परिवार धान्न समस्या भएपछि आफु केदारनाथ दर्शनका लागि आउने भक्तजनलाई डोलीमा राखेर मन्दीर पुगाउने काममा लागेको बताए । पूजाको सिजन अर्थात् वर्षातको समयमा यहाँ यस्तै (डोली देखाउँदै) काम गर्छु भने ।
अब हिमपात हुन सुरु भएकाले आफूलगायत आफ्नो समूह तल्लो क्षेत्रमा काम गर्न जानेगरेको बताए । २०५७ सालमा भुमिगत भएलगतै कलकलाउँदो युवा माओवादीले सेनामा काम गर्न लगायो । माओवादीका तत्कालीन भूमिगत नेता जनार्दन शर्मा, लेखराज भट्ट, हेमन्तप्रकाश ओली लगायतका नेताको सुरक्षागार्ड भएर धेरै समय जगत फडेराले काम गरेका थिए ।
तिनै सुरक्षा दिने लडाकु अहिले भारतका गल्ली चाहरिरहेका छन् भने नेताहरु महलमा बस्छन् । फडेरा सुदूरपश्चिमका तत्कालीन सरकारी सेनासँग हुने लडाइमा प्रत्यक्ष सहभागी हुने लडाकु भएको बताए । कैलालीको खिमडीमा भएको ठुलो लडाइमा जनार्दन शर्मा, हेमन्तप्रकाश ओली घेरामा परेपछि फडेराले जिवन मरणको लडाइ लडी नेपाली सेनाको घेराबाट उहाँहरुलाई मुक्त गरेको सम्झनछन् ।
पसिना पुछ्दै फडेराले आफ्नो कसैसँग केही गुनासो नभएको र श्रमप्रति बिश्वास गर्ने भएकाले श्रम गरेर बसेको सुनाए । सिजनमा केदारनाथ यही काम हुन्छ यहाँ हिमपात भएपछि तल झर्ने र मजदुरी गरेर आफूलगायत आफैंले चिनेका दुई सयभन्दा बढी पूर्व लडाकु यही क्षेत्रमा कार्यरत रहेको उनले बताए । दुई वर्ष पुग्दैछ । स्थानीय चुनावमा मेयर जिताएर आएको त्यहाँदेखि घर नगएको उनले भने ।





