दसैंमा झिनियाँको कारोबार बढ्यो

२०८० कार्तिक ५, आईतवार

पाल्पा : चाडपर्वको मौसम सुरु हुनासाथ झिनियाँको कारोबार बढेको छ । जिल्लाका विभिन्न स्थानका व्यापारीले झिनियाँ बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । दशैँ तथा अन्य चाडपर्वमा रोटीको रुपमा झिनियाँ पाहुनालाई दिने प्रचलन छ ।

दशैँ तिहारका बेला पाल्पाका व्यापारीले एक लाखदेखि दश लाखसम्मका झिनियाँ बिक्री गर्नेगरेका छन् । दशैँ र तिहार पर्वमा मूख्य रुपमा प्रयोग हुने झिनियाँ बनाएर उनीहरूले बुटवल, भैरहवा, काठमाडौँ र पोखरासम्म निर्यात गर्नेगरेको माथागढी –३, कसेनीका व्यापारी नवलप्रसाद श्रेष्ठले बताए ।आफूले भदौदेखि नै झिनियाँ बनाउन सुरु गरेको र अहिले सुकेका झिनियाँ बुटवल र भैरहवा निर्यात गरेको उनले बताए । जिल्लाभित्रबाट भन्दा बाहिरी जिल्लाबाट झिनियाँको माग अत्यधिक भएपछि माग धान्न गाह्रो रहेको श्रेष्ठले सुनाए ।

यहाँका व्यापारीले तयार गरेका झिनियाँ ठूला शहरमा बिक्रीका लागि जानेगरेको छ । नेवार समुदायले दसैँ र तिहारका बेला सबैभन्दा बढी झिनियाँको प्रयोग गर्नेभएकाले यतिबेला यसको माग अत्यधिक रहेको बगनासकाली –२, पोखराथोककी किसान सीता गैरेले बताए । विगत दश वर्षदेखि झिनियाँको बिक्री गर्दैआएका गैरेले वार्षिक चार लाखसम्मको झिनियाँ रोटी बिक्री गर्ने गरेको बताए । उनका अनुसार झिनियाँ प्रतिदर्जन १८० रुपियाँमा बिक्री हुनेगरेको छ ।

झिनियाँ रोटीको बिक्री राम्रो भए पनि पछिल्लो समय घरमा बस्ने महिला यसप्रति आकर्षित हुन थालेका छन् । विगत तीन दशकदेखि झिनियाँ उत्पादन र बिक्री गर्दै आएकी तानसेन –३, टक्सारटोलकी नारायणीदेवी बज्राचार्यले वार्षिक आठ लाख बढीको झिनियाँ बिक्री गर्ने बताए । उनले भने, ‘दसैँ र तिहारको समयमा मात्र पाँच लाख रुपियाँको झिनियाँ बिक्री हुन्छ, अन्य समयमा पनि बिक्री हुन्छ ।’ पछिल्लो समय दशैँ तिहार पर्वमा मात्र होइन, अन्य चाडपर्व, विवाह, व्रतबन्ध, अन्य पूजाआजामा समेत झिनियाँ रोटीको रुपमा दिने प्रचलन बढेको व्यवसायीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार