काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दशैंमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका नलगाउन सर्वसाधारणमा अपील गरेका छन् । उनले विभिन्न पाँच तर्कहरु प्रस्तुत गर्दै यस्तो अपील गरेका हुन् ।
राष्ट्रपतिको संस्था सबैको अभिभावक हुनुपर्नेमा त्यो हुन नसकेको मिश्रको टिप्पणी छ । गणतन्त्रले ३ जना राष्ट्रपति पाइसक्दा ती सबै पार्टी, गुट र नेताका भएको तर देशका नभएको उनले बताएका छन् ।
‘अब त झन सबै पार्टीले जटील समयमा राष्ट्रपति किन ‘आफ्नै मान्छे’ हुन पर्दोरहेछ भन्ने बुझिसकेकाले भविष्यमा यो स्थिति सुध्रिने कुनै संभावना छैन, ‘राष्ट्र र राज्य’ को रूपमा नेपालको क्षयीकरण चरम र भयावह स्थितिमा छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
हालै संविधान दिवसमा राष्ट्रपति पौडेलबाट कैद माफी पाएको ब्यक्तिले जेलबाट मुक्त भएको केही हप्तामै घाँटी काटेर रूकुममा एक महिलाको हत्या गरेको घटना उनले उल्लेख गरेका छन् । राष्ट्रपतिले नै दिऊँसै खुँडा हानी व्यक्ति हत्या गर्ने गुण्डा नाइकेलाई पनि कैद माफी गरीदिएको भन्दै उनले सजाय माफी दिएर चोख्याउन खोज्ने राष्ट्रपतिको हातमा पनि आलो रगत लतपतिएको बताएका छन् ।






