दुर्लभ जनावर सालक भेटियो

२०८० कार्तिक १०, शुक्रबार

सर्लाही : सर्लाहीको मूर्तिया जङ्गलमा दुर्लभ जनावर सालक फेला परेको छ । सव-डिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको वन गस्ती टोलीले नयाँरोड–बरहथवा सडकअन्तर्गत धरहरा नजिक सडकमा हिँडिरहेको अवस्थामा लोपोन्मुख सालक फेला पारेको हो । सालक शान्त एवम् लजालु स्वभावको स्तनधारी जङ्गली जनावर हो ।

तीन दशमल पाँच किलोग्राम तौल र ७२ सेन्टिमिटर लम्बाइ भएको सालक फेला परेको सवडिभिजन वन कार्यालय मूर्तियाका सहायक वन अधिकृत चन्द्रप्रकाश राय यादवले जानकारी दिए । उनका अनुसार उक्त सालक उद्धार गरी शुक्रबार पर्सा वन्यजन्तु आरक्षण केन्द्रमा पठाइएको छ । झट्ट हेर्दा न्याउरी मुसाजस्तो देखिने यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा कत्ला (खबटा) हुन्छ । माटोसँग मिल्दोजुल्दो रङ्ग हुने सालक आहाराको खोजीमा रातमा मात्र निस्कने विज्ञहरू बताउँछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालक मार्ने, खरिदबिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि १० लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार